Thaha

Saturday 04 May - 10:25 pm NST

दक्षिणी सुडानमा राष्ट्रपति र उपराष्ट्रपतिका सुरक्षाकर्मीबीच गोली हानाहान / सयौ मानिसको मृत्यु

काठमाडौं, २६ असार । दक्षिणी सुडानमा राष्ट्रपति र उपराष्ट्रपतिका सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा सयौ मानिसको मृत्यु भएको छ । राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचार समर्थीत सुरक्षाकर्मीबीच राजधानी जुवामा रहेको राष्ट्रसंघको कार्यालय नजिकै गोली हानाहान भएको हो । यसलगत्तै राजधानी जुबाका विभिन्न ठाउँमा गोली हानाहान हुनुका साथै बम विस्फोट भएको थियो । समाचार संस्था रोयटर्सले घटनामा ३३ सर्वसाधारणसहित कम्तीमा २ सय ७२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सुडानबाट अलग भएको पाँच बर्ष पुगेको उपलक्ष्यमा भव्य समारोह गर्न लागिएका बेला हिंसा भड्किएको बीबीसीले जनाएको छ । घटनालगत्तै राजधानीलगायत अरु शहरमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । उपराष्ट्रपति मचारले सरकारी फौजले आफू समर्थित सुरक्षाफौजमाथि आक्रमण गरेको बताउनुभएको छ । सरकारी सेनाले भने घटनामा आफ्नो संलग्नता अस्विकार गरेको छ । मचारका सैन्य प्रवक्ता कोल विलियम गाट्जियाठले राष्ट्रपति साल्भा किर शान्ति सम्झौताप्रति गम्भीर नभएको आरोप लगाउँदै सुडान फेरि युद्धमा फर्किएको प्रतिक्रिया दिनुभएको छ । २० महिना लामो हिंसा रोकी शान्ति स्थापना गर्न दुई नेताबीच गएको अगष्टमा सहमति भएपनि पूर्ण रुपमा लागू हुन सकेको छैन । दक्षिणी सुडानमा राष्ट्रपति किरले उपराष्ट्रपति मचारलाई बर्खास्त गरेपछि सन् २०१३ डिसेम्बर यता अस्थिरता कायमै छ ।